काठमाडौं, कात्तिक १० :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि आज सिंगापुर प्रस्थान गर्दै छन्।

 देउवा आज राति ९ बजे पत्नी आरजु राणासहित सिंगापुर जान लागेका हुन्। सभापति निकट एक शीर्ष नेताका अनुसार उनी स्वास्थ्य परीक्षण र उपचारका लागि त्यहाँ जाँदै छन्।

गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। घटनापछि सुरक्षाकर्मीहरूले उद्धार गरेर उनीहरूलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएका थिए।

कांग्रेस नेताहरूका अनुसार त्यस घटनामा देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियो। उपचारपछि देउवा लामो समय सार्वजनिक कार्यक्रमहरूबाट टाढा रहेका थिए।

जेनजी आन्दोलनपछि देउवा पहिलो पटक भदौ २८ गते पार्टी केन्द्रीय कार्यालयमा देखिएका थिए। सोही दिन उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए।