काठमाडौं, कात्तिक १३ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न महाधिवेशनका लागि चारवटा विकल्प प्रस्ताव गरेका छन्। शर्माले पहिलो विकल्पका रूपमा मंसिर २७ देखि २९ गतेसम्म १५औं महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन्। 

उनका अनुसार कार्यसम्पादन समितिको बैठकमा अर्का महामन्त्री गगन थापाले प्रस्तुत गरेको नियमित कार्यतालिका नै पारित गरी पार्टीले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्नुपर्छ। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नियमित कार्यतालिका अनुसार अघि बढ्नुपर्ने बताएका छन्।

यदि मंसिर मसान्तभित्र नियमित महाधिवेशन गर्न समय अपर्याप्त हुने ठहर भए, त्यसै अवधिभित्र विशेष महाधिवेशन गर्ने दोस्रो विकल्प शर्माले सुझाएका छन्। उनले कांग्रेसको विधानको धारा १७(२) अनुसार केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन गर्न सक्ने व्यवस्था रहेको भन्दै सो अधिकार प्रयोग गर्न सकिने बताएका छन्।

त्यसैगरी, विधानको सोही धारामा उल्लेख भएको व्यवस्था अनुसार महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरका आधारमा विशेष महाधिवेशन बोलाउने तेस्रो विकल्प पनि शर्माले अघि सारेका छन्।

यी तीन विकल्पमा सहमति नजुटेमा उनले पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन गर्ने चौथो विकल्प प्रस्ताव गरेका छन्। पार्टीको कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बिहीबार बिहान फोन सम्पर्क गरी उनले यी विकल्पहरू प्रस्तुत गरेका हुन्।

शर्माका अनुसार संस्थापक नेता बीपी कोइरालाले २०३३ सालमा मेलमिलापको नीति लिएर फर्किएको ऐतिहासिक दिनलाई स्मरण गर्दै त्यही मितिबाट महाधिवेशन आरम्भ गर्न सकिन्छ।

शर्माले महाधिवेशन तयारीका क्रममा निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन, र अन्य उपसमितिहरू गठन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।