मुस्ताङ, कात्तिक १४ :

वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढी बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्‍याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ । अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए।

यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए । तेताङमा करिब १५ मिटरभन्दा बढी सिँचाइ कुलो बाढीले बगाएको छ । तेताङ गाउँमा खानेपानी सेवा अवरुद्ध भएको ।

यसैगरी जिल्ला ट्राफिक कार्यालय जोमसोमदेखि तल रहेको कार्यालय भवनमा वर्षाका कारण ढुङ्गा खस्दा कार्यालय भवनमा आंशिक क्षति पुगेको छ । मनसुन सक्रिय रहेसँगै वर्षाले मुस्ताङका धेरैजसो स्थानका सडक अवरुद्ध भएका छन् । यस्तो अवस्थामा केही दिन मुस्ताङको यात्रा नगर्न वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले आग्रह गरे।