मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १८ कात्तिक, २०८२ मा प्रकाशित
कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस
ललितपुर, कात्तिक १८ :

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी गराए  ।

‘महाधिवेशन कार्यतालिका सहमति निर्माण हुन सकेन, महाधिवेशनका विषयमा पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री गगन थापाको प्रस्ताव आएको छ, वैशाख २७ गतेदेखि ३० गतेसम्म गरौँ भन्ने सहमहामन्त्री महेन्द्र यादवको अर्को प्रस्ताव आएको छ, एउटै बनाउने प्रयास जारी छ, पुस १६ मा हुने भयो भने तीव्र तयारी आवश्यक छ,’ सहमहामन्त्री पाण्डेले भने ।

बैठकमा महामन्त्री गगनकुमार थापाले गरेको प्रस्तावअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका पेस भएको छ ।

यस्तै सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको कार्यतालिकाअनुसार २०८२ चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते सङ्घीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सात प्रदेश अधिवेशन र २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५ औं केन्द्रीय महाधिवेशनको प्रस्ताव भएको पाण्डेले जानकारी दिए ।

सहमहामन्त्री पाण्डेले विशेष महाधिवेशन पक्षधरहरूको मागलाई सम्बोधन गर्न पनि पुसमा महाधिवेशन आवश्यक छ भन्ने धारणा राख्दै नियमित महाधिवेशनमा जोड दिइरहेको धारणा राखे ।

अर्का सहमहामन्त्री किशोरसिंह राठौरले देशका सबै निकाय जलेको बेलामा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ भन्ने धारणा राखे । उनले आफूलाई निर्वाचन पछाडि महाधिवेशन गर्ने कार्यतालिका नै पारित हुन्छ भन्ने विश्वास रहेको बताए ।

केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीले सबै विचारलाई सम्बोधन गर्दै देशको नेतृत्व गरेर सबै पार्टीलाई विश्वस्त हुनसक्ने वातावरण तयार पार्नुपर्ने बताए । उनले विधानअनुसार विशेष महाधिवेशन पनि वैधानिक हो भन्दै विधानले व्यवस्था गरेअनुसार लोकतान्त्रिक पद्धति स्वीकार गर्दै पार्टी अगाडि बढ्छ भन्ने धारणा राखे ।

महामन्त्री गगन थापाको प्रस्ताव
१५ औं महाधिवेशन आगामी पुस १६–१९

१.मंसिर १० गतेसम्म क्रियाशील नवीकरण र नयाँ वितरण ।

२.मंसिर १३ गतेसम्म नयाँ सदस्यता वितरणको सम्बन्धमा प्रारम्भिक छानबिन ।

३.मंसिर १०–२० मा नयाँ तथा नवीकरण सदस्यता छानबिन गरी टुंग्याउने ।

४.मंसिर २४ मा क्रियाशील सदस्यता निर्वाचन समितिलाई बुझाउने ।

५.मंसिर २७ गते ६ हजार ७ सय ४३ वडाको अधिवेशन ।

६.पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन । एक मात्रै क्षेत्र भएको जिल्लाका जिल्ला अधिवेशन नेपाली जनसम्पर्क समिति अधिवेशन मंसिर मसान्त । त्यसपछि सिधै केन्द्रीय अधिवेशन ।

संस्थापन तर्फबाट सहमहामन्त्री महेन्द्र यादवको प्रस्ताव
१५ औं महाधिवेशन वैशाख २७–२९

१.मंसिर १० गतेसम्म नवीकरण

२.पुस ५ गते नयाँ वितरण

३.पुस २० गते क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण

४.चैत १ गते वडा अधिवेशन

५.चैत ५ गते पालिका अधिवेशन

६.चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन

७.चैत २० गते संघीय क्षेत्रीय अधिवेशन

८.चैत ३० गते जिल्ला अधिवेशन

९.वैशाख १५ गते प्रदेश अधिवेशन

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार