काठमाडौं, कात्तिक १९ :

अन्तत: एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि एकता प्रक्रियामा सहभागी भएका छन्। खनाल एकता प्रक्रियामा सहभागी नहुने भन्दै हिजोसम्म छुट्टै अभियानमा लागेका थिए। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज बिहान भएको वार्तापछि उनी एकता प्रक्रियामा सहभागी भएका हुन्। एकता प्रक्रियाको चर्चा चलिरहँदा देखिनै विरोध गर्दै आएका खनाल एकाएक एकता प्रक्रियामा सहभागी हुन पुगेकोप्रति सबै आश्चर्य चकित जस्तै छन् ।  उनीसँगै मोर्चा कसेका घनश्याम भुसाललाई पनि धोका दिए ।दोधारमा रहेका उनी अलिक ढिलो गरी कार्यक्रम स्थलमा पुगेका थिए।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका १० वामपन्थी घटकबीच ‘नेपाली कम्युनिष्ट पार्टी’को घोषणा हुँदैछ। काठमाडौँको भृकुटीमण्डपमा अहिले एकता राष्ट्रिय सम्मेलनको उद्घाटन समारोह चलिरहेको छ।