काठमाडौं, कात्तिक १९ :

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई भ्रमण जितविहीन रूपमा समाप्त गरेको छ। यूएईको घरेलु मैदानमा सम्पन्न अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल ४ विकेटले यूएईसँग पराजित भएको हो।

यससँगै नेपालले सिरिजमा लगातार चौथो हार ब्यहोरेको छ। यसअघि नेपाल यूएईसँग पहिलो खेलमा ५ विकेटले र अमेरिकासँग दुवै खेलमा क्रमशः १०६ रन र ४ विकेटले पराजित भएको थियो।

बुधबार दुबईस्थित आईसीसी एकेडेमीमा भएको अन्तिम खेलमा नेपालले टस गुमाएपछि ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ३९ रनको योगफल बनाएको थियो। जवाफमा यूएईले ५ बल बाँकी रहँदा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो।

यूएईका लागि मुहम्मद सहदादले ९६ रनको उत्कृष्ट पारी खेले। उनले १ सय २३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। मुहम्मद वसिमले ७६ रन योगदान दिए भने सोहेब खानले २९ रन बनाए।

नेपालका तर्फबाट करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने, ललित राजवंशी र नन्दन यादवले समान १–१ विकेट लिए।

सन्दीपले १० ओभरमा २ मेडन राख्दै ३५ रनमा १ विकेट झारे भने ललितले १ मेडनसहित ४८ रन खर्चे।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए। उनले ६८ बलमा ७ चौका प्रहार गरे।
ओपनर आशिफ शेखले ३४ रन र दीपेन्द्रसिंह ऐरीले ३७ रन जोडे। आरिफ शेखले ३० रनको योगदान दिए।

कुशल मल्ल ५१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४६ रनमा बोल्ड भए। कप्तान रोहित पौडेल २ रनमा आउट भए तर उनले आफ्नो ७६औं खेलमा २ हजार रन पूरा गरेका छन्।

नेपालका अन्य ब्याटरमध्ये नन्दन यादव १ रन, करण केसी शून्य रनमा आउट भए। सन्दीप लामिछाने १५ र ललित राजवंशी ४ रनमा नटआउट रहे।