
सहकारी ठगी र संगठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक छविलाल जोशीको मुद्दाको आज सुनुवाइ हुँदैछ।
उच्च अदालत तुलसीपुर, बुटवलमा तोकिएको साप्ताहिक पेसीअनुसार न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ । आजको एक नम्बर इजलासमा यो मुद्दा क्रम नम्बर ३ मा परेको छ।
यसअघि कात्तिक १३ गतेका लागि तोकिएको पेसीमा जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो। त्यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले रवि र छविको मुद्दा एउटै प्रकृतिको भएकाले दुवैको मुद्दा एउटै इजलासमा राख्न आदेश दिएको थियो।
रविले बिगो रकम बुझाएर थुनाबाहिर रहेर मुद्दा लड्न माग गरेका छन्। त्यसपछि उच्च अदालतले जोशीको फाइल पनि माग्दै दुवैको मुद्दा एकैपटक हेर्ने आदेश दिएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा दाखिला गरेका छन्। तर जिल्ला अदालत रुपन्देहीले उनलाई रिहा गर्न अस्वीकार गरेको थियो। त्यसपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दिएका थिए।
साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले पनि रिहा गर्ने माग अस्वीकार गरेको थियो।
सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँको सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ।
रविले आफू सहकारीको शेयर सदस्य, सञ्चालक वा ऋणी नभएको दाबी गर्दै, कुनै ऋण नलिएको र बचत रकम अपचलन नगरेको बताएका छन्।