
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने अतिआवश्यक सुविधाहरु घटाउने निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन्।
सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत ध्यान दिदै अतिआवश्यक सुविधामा पुनर्विचार गर्नुपर्ने उनले बताए ।
अध्यक्ष दाहालले सरकारको कामकारबाहीमा सहजीकरण गर्न राष्ट्रिय सभाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले छिटो बैठक बोलाउन र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिए ।
उनले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले मन्त्रीलाई बोलाउदा उपस्थित हुने वातावरण बनाउन समेत निर्देश गरे ।
उनले राष्ट्रिय सभाको दुई बर्षे कार्यकालसम्बन्धी पुस्तक प्रकाशनका लागि उपसमितिलाई जिम्मेवारी दिइएको र समयमा नै प्रकाशन हुने जानकारी दिए।