
नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज बसेको पार्टीको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले शोकप्रस्ताव पारित गरेको हो ।
बैठकले आलमको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आलमको निधनमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। कात्तिक २२, २३ र २४ गते पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा आधा झण्डा झुकाउने निर्णय गरेको हो।
यसैगरी, कांग्रेसले आलमको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै कात्तिक २३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ। साथै,निधनको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिनेछ। प्रत्येक सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णयसमेत भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
आलमको गएराति २ बजे उपचारका क्रममा अस्पतालमा निधन भएको हो। उनको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी)मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मिर्गौला फेल भएको थियो ।