
अमेरिकी सिनेटले एक महत्वपूर्ण वित्तीय विधेयक पारित गरेको छ । वित्तिय विधेयक पारित भएसंगै अमेरिकी इतिहासकै सबैभन्दा लामो सरकार बन्दलाई केही दिनभित्र अन्त्य गर्न सक्ने सम्भावना देखिएको छ।
यो विधेयक सोमबार राति ६०-४० को मतान्तरले पारित भएको हो । जसमा अधिकांश रिपब्लिकन सांसदहरूसँगै आठ जना डेमोक्र्याट सांसदहरू पनि आफ्नै पार्टीबाट अलग हुँदै समर्थनमा उत्रिएका थिए। यस सम्झौताले सरकारलाई जनवरीको अन्त्य सम्मका लागि सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध गराउनेछ।
अब यो विधेयक प्रतिनिधि सभाबाट पारित हुन बाँकी छ । त्यसपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि यो लागू हुनेछ। सोमबार नै ट्रम्पले यसलाई स्वीकृति दिन तयार रहेको संकेत दिएका छन्।गत साता अन्त्यतिर आठ जना डेमोक्र्याट र रिपब्लिकन सांसदबीच सहमति बनेपछि सरकारी कर्मचारीहरूलाई पुनः काममा फर्काउने र अत्यावश्यक सेवाहरू पुनः सुरु गर्ने सम्झौता सम्भव भएको हो।
रिपब्लिकन पार्टीका केवल एक जना सांसद केन्टकीका र्याण्ड पॉल मात्र डेमोक्र्याटहरूको बहुमतसँगै उक्त विधेयकको विरोधमा उभिए। विधेयक पारित भएको घोषणा गर्दा सभाको कोठा लगभग खाली थियो तर अन्त्यसम्म बस्ने सांसदहरूले ताली र जयकारा सहित स्वागत गरिएको थियो।
विधेयकका प्रमुख लेखक र रिपब्लिकन सांसद सुसन कोलिन्सले भने “हामी सरकार पुनः सञ्चालन गर्दैछौं र ती संघीय कर्मचारीहरूलाई अब उनीहरूले आर्जन गरेको तलब प्रदान गर्न सुनिश्चित गर्दैछौं।”
यो प्रगति ४१ दिन लामो सरकारी बन्दपछि आएको हो। जसले हवाई यातायातमा अवरोध पुर्याएको, लाखौँ संघीय कर्मचारीहरूलाई बेरोजगार बनाएको र करोडौँ अमेरिकीहरूलाई खाद्य सहायता गुम्ने डरमा राखेको थियो।अब यो विधेयक रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधि सभामा पठाइनेछ जहाँका सदस्यहरू सेप्टेम्बरको मध्यदेखि वासिङ्टन बाहिर रहेका छन्।
सोमबार जब सिनेट सम्झौता नजिकिँदै थियो प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले सांसदहरूलाई वासिङ्टन फर्कन आह्वान गरे।प्रतिनिधि सभाले बुधबारदेखि उक्त विधेयकमाथि छलफल सुरु गर्नेछ । यद्यपि यस प्रक्रियामा कति समय लाग्छ भन्ने स्पष्ट भने छैन।प्रतिनिधि सभामा रिपब्लिकनहरूलाई दुई सिटको सानो बहुमत मात्र भएकाले हरेक मत निर्णायक हुनेछ।
विधेयकमा के समावेश छ?
सप्ताहन्तमा भएको सम्झौताअनुसार यो विधेयकले ३० जनवरीसम्म संघीय सरकारका लागि वित्तीय स्रोत सुनिश्चित गर्छ। यसमा कृषि विभागका लागि वार्षिक बजेट, सैन्य निर्माण र विधायनसँग सम्बन्धित निकायहरूका लागि पनि रकम समावेश गरिएको छ। सरकारी बन्द अवधिका सबै संघीय कर्मचारीहरूलाई तलब उपलब्ध गराउने ग्यारेन्टी गरिएको छ । साथै देशका आठ जनामध्ये एक जनाले प्रयोग गर्ने ‘एसएनएपी’ खाद्य सहायता कार्यक्रमलाई आगामी सेप्टेम्बरसम्मका लागि निरन्तरता दिइनेछ।
यसबाहेक स्वास्थ्य बीमा अनुदान विस्तार गर्ने विषयमा डिसेम्बरमा मतदान गरिने सम्झौता पनि विधेयकमा समावेश छ। यो मुद्दामा डेमोक्र्याटहरू लामो समयदेखि अडिएका थिए। डेमोक्र्याट नेताहरूले भनिरहेका थिए कि जबसम्म अमेरिकीहरूलाई सरकारी बीमा योजनामार्फत बीमा लिन सहयोग गर्ने ती अनुदानहरूको समाधान हुँदैन तबसम्म उनीहरूले नयाँ बजेटलाई समर्थन गर्ने छैनन्। तर केही डेमोक्र्याट सांसदहरूले रिपब्लिकनसँग सम्झौता गरी विधेयक पारित गरेपछि आफ्नै पार्टीभित्र आलोचना झेलेका छन्।
सिनेटका अल्पसंख्यक नेता चक शुमरले भने “यो विधेयकले अमेरिकाको स्वास्थ्य संकट समाधान गर्न कुनै ठोस कदम चालेको छैन।”
तर सम्झौतामा साथ दिने भर्जिनियाका डेमोक्र्याट सिनेटर टिम केनले भने, “म प्रतिनिधित्व गर्ने संघीय कर्मचारीहरूले यो सहमति भएकोमा ‘धन्यवाद’ भनेका छन्।”
सिनेटका बहुमत नेता जोन थुनले डिसेम्बरको दोस्रो सातासम्म स्वास्थ्य अनुदानको विषय संसदमा ल्याउने वाचा गरेका छन्। तर प्रतिनिधि सभाका सभामुख माइक जोन्सनले भने उक्त प्रस्तावलाई मतदानका लागि प्रस्तुत नगर्ने बताइसकेका छन्।