काठमाडौं, कात्तिक २७ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र निर्णायक भूमिका खेल्न नसक्दा पटक–पटक गल्ती भएको स्वीकार गरेका छन्।

सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै उनले माओवादीसँगको गठबन्धन, एमालेसँगको सत्ता सहकार्य र टिकट वितरणका निर्णयहरू गल्ती भएको बताए। थापाले भने,‘कांग्रेसले पनि गल्ती गर्‍यो, मैले पनि हस्तक्षेप गर्न नसकेर गल्ती दोहोर्याएँ।’

थापाले १४औँ महाधिवेशनमा नेतृत्व फेर्न नसकेको, स्थानीय तहको टिकट वितरणमा आपत्ति जनाए पनि अडान नलिएर गल्ती गरेको र माओवादीसँगको गठबन्धनमा सैद्धान्तिक अडान छोड्नु अर्को गल्ती भएको बताए।

उनले २०८१ असार १७ गते कांग्रेस-एमालेबीच भएको सत्ता सहकार्यलाई पनि गल्तीका रूपमा व्याख्या गर्दै सभापति शेरबहादुर देउवालाई ‘कांग्रेस तपाईंको प्राइभेट कम्पनी होइन’ भनेको प्रसंग पनि स्मरण गरे।

‘गठबन्धन गर्नै हुँदैन भन्ने मेरो सैद्धान्तिक आधार आज पनि कायम छ,’उनले भने, ‘त्यो बेला अडान नलिएर फेरि गल्ती गरेँ।’ थापाले पार्टीभित्रका विकृति सुधार्न नसकेको र आफ्नो भूमिकाबारे आत्मसमिक्षा गर्न बाध्य भएको बताए। उनले भने,‘भदौ २४ गते मेरो घर जल्दा आफ्ना गल्तीहरू झनै स्पष्ट देखेँ ।’