काठमाडौं, कात्तिक ३० :

मधेस प्रदेशको मुख्य मन्त्री नियुक्ति प्रक्रिया विरुद्ध ७४ जना सांसदहरूले दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको छ ।  

सर्वोच्च अदालतका न्यायाधीश द्वय तिलप्रसाद श्रेष्ठ र नृप ध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो । मधेस प्रदेशका ७४ सांसदले मुख्य मन्त्री सरोज यादवको नियुक्ति विरुद्ध दायर गरेको रिट गत मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको थियो ।  

यसअघि अदालतले यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकार विरुद्ध मधेस प्रदेशका ७४ सांसदहरूले अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

गत सोमबार दायर गरेको रिटमा सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो ।

नीतिगत निर्णय नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ ।