काठमाडौं, मंसिर १ :

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ ।

काठमाडौंको कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा २७ गतेसम्म चल्ने प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । प्रतियोगिताका  ९ वटा खेल दिउँसो र २३ वटा खेल डे - नाइटमा हुनेछ ।

आज उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमान्डु गोर्खाज भिड्दैछन् । खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । एनपिएलमा लिग चरण, तीनवटा प्लेअफ र फाइनल सहित ३२ वटा खेल हुनेछ ।

पहिलो खेलका लागि सम्पूर्ण टिकट बिक्री समेत भइसकेको क्यानले छ ।

गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यस पटक भने १० हजार दर्शक क्षमताको प्यारा पिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् । रंगशाला शहरी विकास मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान)लाई हिजो औपचारिक कार्यक्रममार्फत हस्तान्तरण  गरेको हो ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो । गत संस्करणकै नतिजा दोहोर्‍याउने लक्ष्यमा जनकपुर हुनेछ ।

यस्तै काठमान्डु गोर्खाज गत संस्करण पाँचौं स्थानमा रहेर लिग चरण सकाएको थियो । यसपटक काठमान्डु गोर्खाजले जर्सीदेखि लोगो अनि प्रशिक्षकदेखि अधिकांश विदेशी खेलाडी परिवर्तन गरेको छ ।

क्यानले एनपिएलबाट ३० देखि ४० करोडसम्म आम्दानी हुने अपेक्षा गरेको छ ।