
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनीहरूको गत हप्ता मुद्दाको मूल मिसिल झिकाउनका लागि आदेश दिएको थियो ।
मिसिल अदालतमा आएपछि आज पेसी चढाइएको र गोलाप्रथाबाट इजलासको टुङ्गो लाग्ने बताईएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेको थियो ।
अदालतले लामिछाने र जोशीको मुद्दा एउटै साथ हेर्न यसअघि नै आदेश दिएको छ ।
लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवामा रहेका छन् ।