
प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा उत्पन्न भएको अवस्थामाथि समग्र समीक्षा तथा आवश्यक सुरक्षा रणनीति तय गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन्। बैठक अहिले सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा जारी छ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका सदस्यहरूको उपस्थिति रहेको छ ।
यसअघि आज बिहान गृहमन्त्री अर्यालले समेत सबै सुरक्षा निकायका प्रमुखसँग सिंहदरबारमा छुट्टै छलफल गरी सुरक्षा अवस्थाबारे ब्रिफिङ लिएका थिए।
सिमरामा बुधबार जेनजी युवाहरूले गरेको तोडफोड, सडक अवरोध तथा आगजनीपछि स्थिति तनावपूर्ण बनेको थियो।आज फेरि परिस्थितिमा थप तनाव सिर्जना भएपछि पुनः कर्फ्यु जारी गरिएको छ। उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै राष्ट्रिय मानव अधिकार आयोगले शान्ति–सुरक्षा सुदृढ गर्न सरकारलाई आवश्यक कदम चाल्न आग्रह गरेको छ।