
काठमाडौं जिल्लामा शुक्रबार एमालेबाहेक कुनै पनि समूहलाई सार्वजनिक कार्यक्रम आयोजना गर्न अनुमति नदिएको स्थानीय प्रशासनले जनाएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेलका अनुसार एमालेलाई मात्र सडकको एक किनाराबाट निर्धारण गरिएको स्थलसम्म कार्यक्रमका लागि आवागमन गर्न अनुमति दिइएको छ।
उनका अनुसार अन्य कुनै दल, संस्था वा समूहलाई सार्वजनिक आवागमन प्रभावित हुने योजना सहित कार्यक्रम गर्न प्रशासनले अनुमति दिएको छैन। शुक्रबार बिहान काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू तथा सुरक्षा निकायका प्रमुखहरूको संयुक्त बैठक बसेपछि उपत्यकाको सुरक्षा स्थिति, हालका गतिविधि र आवश्यक सुरक्षा व्यवस्थापनबारे समीक्षा गरिएको थियो।
एमालेले पूर्वनिर्धारित कार्यक्रमअनुसार बबरमहलस्थित कार्की ब्यांक्वेटमा इन्डोर कार्यक्रम गर्न अनुमति मागेको थियो। सोहीअनुसार विभिन्न स्थानबाट एमाले कार्यकर्ताहरू बबरमहलतर्फ जुट्न थालेका छन्।
पार्टी नेताहरूको सुरक्षाका लागि नेसनल भोलेन्टियर फोर्स गठन गर्दै
एमालेले तीनकुनेबाट निकालेको र्याली समेत माइतीघरतर्फ अघि बढिरहेको छ। पार्टीका अनुसार बबरमहल हुँदै माइतीघर पुगेपछि कार्की ब्यांक्वेटमा ‘नेसनल भोलेन्टियर फोर्स’को औपचारिक घोषणा गर्ने कार्यक्रम छ। उक्त फोर्सको घोषणा अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टी नेताहरूको सुरक्षामाथि खतरा बढेपछि फोर्स गठन गर्न लागिएको हो।
यता जेन-जी समूहका घाइतेको पक्षमा भन्दै अर्को समूह माइतीघर मण्डलामा धर्ना बसेको छ।