काठमाडौं, मंसिर ५ :

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको छ । 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा र राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ७ वटा दल दर्ता भएको जानकारी दिए । त्यस्तै आयोगमा हालसम्म दर्ता भएका दलको संख्या १ सय २६ पुगेको र ३० दल दर्ता प्रक्रियामा रहेको उनले बताए।

यद्यपि अहिलेसम्म ठुला भनिएका दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले भने अहिलेसम्म पनि दल दर्ता गरेका छैनन् । निर्वाचनका लागि सुरक्षा, व्यवस्थापकीय लगाएतका कामलाई कार्ययोजना बनाएर नै काम गरिरहेको उनले जानकारी दिए । त्यस्तै प्रवक्ता भट्टराईले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट समय कायम गर्ने बताए।

आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदाताको विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गर्ने र त्यसमाथि कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने उनले बताए ।

विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले बताए ।