रुपन्देही, मंसिर ८ :

दुई दशकदेखि नेपाल आयल निगमको ट्याङ्कर चलाउँदै आएका दामोदर खरेललाई पेट्रोलियम पदार्थ बोकेर निगमको भलबारी डिपो आउँदा सधैँजसो ट्याङ्कर कहाँ पार्किङ गर्ने भन्ने चिन्ताले सताउँछ । डिपोमा पार्किङको उचित व्यवस्था नहुँदा कहिले सडक किनारा त कहिले टोल बस्तीभित्रै ट्याङ्कर राख्नुपर्ने बाध्यता छ ।

सडकमा पार्किङ गर्दा दुर्घटना र ट्राफिक कारबाहीको डर तथा बस्ती नजिक स्थानीयले रोक्नसमेत नदिँदा खरेलजस्तै ३०० हाराहारी ट्याङ्कर चालकले हैरानी बेहोर्दै आएका छन् । ‘डिपोमा पार्किङ नहुँदा सडकमै ट्रक तथा ट्याङ्कर राख्नुपर्ने, ट्राफिक प्रहरीले जरिवाना तिराउने, बुटवल–भैरहवा सडकको सर्भिस लेनबाट निगमको डिपोभित्र प्रवेश गर्नुपर्दा अत्यधिक जामको समस्या आएको छ’, चालक खरेलले भने ।

पेट्रोलियम पदार्थ लिन निगमकै अन्य तथा इण्डियन आयल कर्पोरेशन (आइओसी) का विभिन्न डिपो पुगेका उनीसँग डिपो सुरक्षाका लागि छुट्टै पार्किङको विशेष व्यवस्था भएको अनुभव छ । ‘सडकमा रोकी राख्दा कहिलेकाहीँ दुर्घटना हुनसक्छ, त्यसको जिम्मेवार को भन्दा ट्याङ्कर चालक नै हुने गरेका छन्’, ट्याङ्कर एकाइ कमिटी भलबारीका अध्यक्ष खरेलले भने, ‘निगमले पार्किङको ठाउँ छुट्टाइदिएको भए चालक र स्थानीयलाई पनि ढुक्क हुन्थ्यो ।’

पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी सङ्घका कोषाध्यक्ष धनेन्द्र पौडेल ठूल्ठूला ट्याङ्कर आवातजावत गरिरहँदा पार्किङको अभाव भएको बताउँछन् । इन्धन लोड गरेर ल्याएको ट्याङ्कर यत्रतत्र राख्नुपर्ने बाध्यता छ । ‘पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर घरमा  लगेर राख्ने होइन, अति प्रज्वलनशील पदार्थ सडकमा राख्न पनि मिलेन’, उनले भने ‘पेट्रोलियम पदार्थको माग बढेका दिन लस्करै वल्लो चोकदेखि पल्लो चोकसम्म ट्याङ्कर राख्नुपर्ने बाध्यता छ, यसबाट सडक दुर्घटना मात्र नभई अन्य समस्या पनि बेहोर्नुपरेको छ ।’

रुपन्देहीकै रोहिणी क्षेत्रमा डिपो सार्ने खबरले ट्याङ्कर व्यवसायी र चालक उत्साहित छन् । ‘रोहिणी क्षेत्रमा डिपो स्थानान्तरण हुने जानकारी पाएका छौँ, नयाँ ठाउँमा पार्किङको उचित व्यवस्था हुन्छ भन्ने आशा छ’, उनले भने ।