काठमाडौं, मंसिर ११ :

सहकारी ठगीमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका  सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

उनीहरुको मुद्दा न्यायाधीशद्वय मिलनकुमार राई र सानुमैया डंगोलको  ३ नं इजलाशमा परेको थियो ।

बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रास्वपा सभापति रवि लामिछानेले जिल्ला अदालतको आदेशमा चित्त नबुझी उच्चमा निवेदन दिएका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ ।

तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लमिछानेले जस्तै जोशीले पनि त्यति नै बिगो बापतको जमानत पेस गरेका थिए ।

रविका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गरीपाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको  हो ।

यसअघि अघिल्लो बिहीबार पाटन उच्च अदालतमा पनि पेशी परेकाले रविका कानून व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको थियो ।