बारा, मंसिर ११ :

बारामा एक चिनियाँ नागरिकले मुस्लिम समुदायकी बालिकासँग विवाह गर्न खोजेको घटनालाई प्रहरीले रोकिदिएको छ। 

करैयामाई गाउँपालिका–१ हरैयाबाट बुधवार मध्यराति बेहुला–बेहुली र बेहुलीका बाबु जाकिर हुसेनसहित ३ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कलैयामा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।

उनका अनुसार विवाह उमेर नपुगेको तथा अनमेल विवाहको आशंकामा गहिरो अनुसन्धान भइरहेको छ। स्थानीयका अनुसार अहिले गाउँमा चिनियाँ नागरिकसँग विवाह गराइने घटना बढेको छ । बिचौलियाले आर्थिक प्रलोभनमा यस्ता विवाह गराउने गरेको छन्। एक वर्षयता त्यस्तै ३ घटना देखिएका छन्।

वडाध्यक्ष सोनालाल साहका अनुसार बेहुली १८ वर्षकी थिइन् र विवाह कानुनतः मिल्दैन। उनले यस्तो प्रकारको विवाह गाउँका लागि नयाँ र आश्चर्यजनक भएको टिप्पणी गरे।