
नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित यात्रालाई जारी राख्दै लगातार चौथो जित दर्ता गर्न सफल भएको छ।
सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गर्दै सहज जित हात पारेको हो। लुम्बिनीले पहिलो खेलमा जित निकालेपछि भने लगातार तीन खेलमा हार भोगेको छ।
पहिले ब्याटिङ गरेका लुम्बिनीका व्याटर ‘डेथ ओभर’ मा लगातार विकेट गुमाउँदा टोली १९.४ ओभरमा १४३ रनमै समेटियो। कप्तान रोहित पौडेलले ३५ रन, दिलिप नाथले ३१ रन, ड’यार्सी सर्ट र सुमित महर्जनले समान १८-१८ रन जोडे भने गुल्बदिन नाइबले ११ रनको योगदान दिए।
अन्तिम पाँच ओभरमा लुम्बिनीले ३९ रन मात्र जोड्दै ८ विकेट गुमाएको थियो, जसले टोली ‘कोल्याप्स’ भएको स्पष्ट देखियो।
जवाफमा १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ४ बल बाँकी हुँदै लक्ष्य पूरा गर्यो। जितका नायक ओपनर विनोद भण्डारी रहे, जसले ४९ बलमा ५ चौका र ४ छक्कासहित ६९ रनको उत्कृष्ट इनिङ्स खेले। उनले आरिफ शेखसँग चौथो विकेटका लागि ९९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। शेख ३९ रनमा आउट भए। क्रिस लिनले १६ तथा जोश ब्राउनले ९ रन जोडे।
लुम्बिनीका बलरहरू कमजोर प्रदर्शनमा टेके, रुवेन ट्रम्पलमेन र अभिशेष गौतमले १-१ विकेट लिन सफल भए मात्र।सुदूरपश्चिमका लागि भने अभिनाश बोहरा र हर्मित सिंहले समान ३–३ विकेट लिए। हेमन्त धामीले २ तथा स्कट कुग्लिङले १ विकेट लिए। जितसँगै सुदूरपश्चिम ४ खेलबाट ८ अंकसहित तालिकाको शीर्ष स्थानमा यथावत् रहँदा, लुम्बिनीले समान खेलबाट २ अंक मात्र बटुलेको छ।