
शिक्षक शिक्षालाई बहुविधाबाट हेरिनुपर्नेमा जोड दिईएको छ ।
शिक्षक शिक्षालाई २१औँ शताब्दी अनुकुल कसरी बनाउन सकिन्छ भन्ने विषयमा काठमाण्डौंमा आयोजित दुईदिने अन्तराष्ट्रिय सेमिनारमा सो कुरालाई जोड दिइएको हो ।
आलोचनात्मक सोच, सहकार्य, सञ्चार र सिर्जनशीलता जस्ता २१ औं शताब्दीका सीपहरुसंग शिक्षालाई जोड्नुपर्ने सम्मेलनमा सहभागीहरुको भनाई छ । साथै शिक्षक शिक्षा पाठ्यक्रमलाई नै परिमार्जन गरिनुपर्नेमा पनि जोड दिइयो । पाठ्यक्रमको अध्यावधिक गर्दै प्रविधिमैत्री बनाईनुपर्ने अहिलेको आवश्यकता रहेको सहभागीहरुले औल्याए ।
विद्यालय शिक्षकहरुसंग पनि विषयबस्तु,शिक्षण पद्धति, शैक्षिक विधि ज्ञान, समुदाय र विद्यालय सहकार्य जस्ता कुरामा प्रतिस्पर्धा हुनुपर्ने कुराहरु सम्मेलनमा उठाइएको थियो ।
त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र शंकायले सम्मेलनको आयोजना गरेको हो । काउन्सिल फर एजुकेशनल एडमिनिस्ट्रेसन एण्ड म्यानेजमेन्ट भारत, इन्डियन एसोसिएसन अफ लाईफ स्कील्स एजुक्शन भारत र काउन्सिल फर टिचर एजुकेशन फाउण्डेसन केरलाको सहकार्य रहेको थियो ।
सो अवसरमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारी, शिक्षा शास्त्र संकायका डिन प्रा डा वेदराज आचार्य, डा बासु काफले लगायतका वक्त्ताहरुले शिक्षाको विकासका लागि यो अन्तराष्ट्रिय सेमिनार महत्वपुर्ण सावित हुने बताउनुभयो । शिक्षामा अब अनलाइन र अफलाइन दुबै विधिको प्रयोग आवश्यक भएको उहाहरुले बताउनुभयो ।
सो अन्तराष्ट्रिय सेमिनारमा नेपाल र भारतका प्रोफेसरहरुको सहभागिता रहेको थियो ।