सुर्खेत, मंसिर १३ :

सुर्खेतको वीरेन्द्रनगरमा गए राति भएको सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको ज्यान गएपछि आज बिहानैदेखि स्थानीय क्षेत्र तनावपूर्ण बनेको छ।

घटना शंकास्पद भएको भन्दै  छानबिन कडा माग गरेका छन् । मुलपानी चोक,एरिचोक लगायतका स्थानमा प्रदर्शनकारीले टायर बालेर आवागमन अवरुद्ध गरेको छ । आचार्यका आफन्तले घटनास्थलमै गम्भीर त्रुटि भएको शंका गरेका छन्। प्रहरीले रातारात प्रमाण नष्ट गर्ने गरी काम गरेको,मुचुल्का नउठाई पानी खन्याएको जस्ता आरोप आफन्तले लगाएका छन् । यही कारण आज बिहानदेखि उनीहरूले सडकमै उत्रिएर आवाज उठाएका हुन्।

गएराती वीरेन्द्रनगर–२ को वडा कार्यालय अगाडिको सडकमा दुर्घटना भएको भएको हो । मुलपानीबाट भुरेली जाँदै गरेको यामबहादुर शाहीले चलाएको मोटरसाइकल र पत्रकार आचार्य चढेको स्कुटर एक–आपसमा ठोक्किँदा आचार्य गम्भीर घाइते भएका थिए।

अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकारी दीपक मगरातीले गम्भीर घाइतेलाई तुरुन्त उपचारमा पठाइएको तर अहिले उल्टै आरोप लगाइएको बताएका छन् ।

मृतक आचार्य रेडियो तिला आवाज कालिकोटका स्टेसन म्यानेजर थिए । उनी  प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत थिए ।