असोज ९ :

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत् प्रसारण लाइन विस्तारका कारण भत्काइएको बाँसबारी- बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिनुभएको छ । 

काठमाडौँ महानगरपालिका- ५ बाट निर्वाचित मन्त्री पौडेलले तीन साताअघि मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणले समयमै मर्मत नगरेपछि धुलोबाट नागरिकले सास्ती पाएको भन्दै तत्काल कालोपत्रको काम अघि बढाउने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई आग्रह गर्नुभएको छ । 

एक वर्षअघि नै काम थालिए पनि सम्बद्ध तीन निकायबीच समन्वयको अभावमा काम नभएपछि नागरिकलाई परेको समस्या हटाउने पहलकदमी मन्त्री पौडेलले थाल्नुभएको हो ।

डिभिजन सडक कार्यालय, मेलम्ची खानेपानी आयोजना तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीसँग स्थलगत निरीक्षण गरेर काममा ढिलाइ नगर्न उहाँले आग्रह गर्नुभएको छ । 

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र अघिको ३०० मिटर खण्डमा कालोपत्रको तयारी थालिएको थियो । सडकमा माटो बिच्छ्याए पनि कालोपत्र गर्ने काम अघि नबढेको गुनासो आएपछि मन्त्री पौडेलले सम्बद्ध अधिकारीको ध्यानाकर्षण गराउनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।