
फाइल तस्बिर ।
नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।
बैठकले वर्तमान कार्यसमितिको समयावधि पनि माघसम्मका लागि थप गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा आगामी पुसमा महाधिवेशन गर्ने गरी तयार पारिएको कार्यतालिका निर्णयार्थ पेस गरेका थिए।
अनुमोदित कार्यतालिका अनुसार कांग्रेसले नयाँ सदस्यताका लागि वडा तहसम्म मंसिर २४ गतेभित्र फारम पठाउने निर्णय गरेको छ।
प्रकाशित कार्यतलिका अनुसार गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते, सात वटै प्रदेश अधिवेशन पुस २३ र २४ गते हुनेछ।
पुस ८ गते भित्र सबै निर्वाचन क्षेत्र, नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गरिसक्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।
नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशिता, नयाँ युवा पुस्ता, अन्य पार्टीबाट प्रवेश गरेकाहरुलाई समेत क्रियाशील सदस्यता दिने निर्णय कांग्रेसले गरेको छ। विदेशस्थित जनसम्पर्क समितिबाट पनि प्रतिनिधित्व हुने व्यवस्था भएको हुनाले पुस १५ गते भित्र विदेशस्थित जनसम्पर्क समितिको पनि अधिवेशन गरिसक्नुपर्नेछ।
महाधिवेशनको तालिकासँगै काग्रेस आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ नेतृत्वका साथ चुनावी मैदानमा होमिने भएको छ । बैठक लामो समयसम्म अनिर्णयको बन्दी बनेको भन्दै चर्को आलोचना हुँदै आएको थियो । विशेष महाधिवेशन कि नियमित भन्ने विवाद हुँदा असोज २८ गते सुरु भएको बैठक सोमबार निर्णय गरेको हो ।