रामेछाप, मंसिर १९ :

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफू देशको नेतृत्व गर्न तयार भएको दाबी गरेका छन्। रामेछापको सुनापति गाउँपालिकामा आयोजित आधारभूत अस्पताल उद्घाटन कार्यक्रममा ऊर्जासहित तीन मन्त्रालय सम्हालिरहेका घिसिङले आगामी राजनीतिमा आफ्नो भूमिकाबारे संकेत दिएका हुन्।

घिसिङले देश निर्माणका लागि ‘उज्यालो नेपाल पार्टी’ दर्ता गरेको उल्लेख गर्दै आफूलाई समर्थन गर्न सर्वसाधारणसँग आग्रह गरे। उनले देशलाई उज्यालो बनाउन नेतृत्वमै पुग्नु पर्ने आवश्यकता औंल्याउँदै परिवर्तनलाई संस्थागत गर्न आफू जस्ता व्यक्तिलाई नेतृत्वमा ल्याउनुपर्ने दाबी गरे।

सरकारी कर्मचारीको रूपमा राम्रो काम गरेको जनाउँदै अब देशको नेतृत्व लिनुपर्ने निष्कर्षमा पुगेको उनले बताए। ‘यो देशको नेतृत्व गर्नुपर्छ भन्ने लागेको छ, त्यसका लागि जनताको साथ आवश्यक छ,’ घिसिङले भने।

सम्पूर्ण देशको विकास नेतृत्वमा निर्भर रहने उल्लेख गर्दै उनले रोजगारी, सुशासन र नागरिक हितका लागि योग्य व्यक्तिहरूलाई छान्न आग्रह गरे। यद्यपि, सरकारी स्रोतसाधनको दुरुपयोग गर्दै आफ्नो पार्टीको पक्षमा प्रचार गरेको आरोपसमेत घिसिङमाथि लागेको छ। उद्घाटन समारोहकै मञ्चबाट उनले उज्यालो नेपाल पार्टीको खुलेआम प्रचार गरेका थिए।

घिसिङले आफूले देशभर बिजुलीको उज्यालो पु¥याएको दाबी गर्दै आगामी सरकारको नेतृत्व गर्न सक्षम व्यक्ति आफू नै भएको दाबी दोहोर्याए।