मकवानपुर, मंसिर २० :

हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक आज बिहानै देखि भत्काउन सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय हेटौंडाले डोजर  प्रयोग गरेर सडक सीमा खाली गराउन सुरु गरेको हो ।

सडक सीमा भित्रको २५–२५ गज क्षेत्र खाली गराउन आजदेखि  हेटौँडा–१० राप्ती रोडमा डोजरको प्रयोग गरी संरचना भत्काइएको हो ।  सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा कार्यालयले सडक विस्तारको काम सुरु गरेको छ ।  

कार्यालयले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको ९.५ किलोमिटर सडक क्षेत्रमा निर्माण भएका सार्वजनिक निजी संरचना भत्काउन थालेको हो । सडक मिचेर बनाईएका संरचना आफै भत्काउन घरधनीहरुलाई हिजोसम्मको समयसीमा दिइएको थियो । तर उनीहरुले नभत्काएपछि सडक डिभिजन कार्यालय हेटौंडाले आजबाट भत्काउन सुरु गरेको हो । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान १० बजेबाट १२ वटा छुट्टाछुट्टै टोली परिचालन गरी रातोमाटे, बुद्धचोक, बाइपास, राप्तीरोडदेखि उद्योग वाणिज्य संघ आसपाससम्म संरचना हटाउने कार्य सुरु भएको छ ।  

सुरुका चरणमा सटर, बोर्ड र व्यापारिक गतिविधि प्रभावित पार्ने काम मात्रै गरिने र आवासीय घर तत्काल नभत्काइने  बताइएको छ ।

सडक डिभिजन कार्यालय मकवानपुरले पनि मंसिर २० गतेदेखि सडक विस्तार प्रारम्भ गर्ने निर्णय यथावत् रहेको जनाएको छ। मंसिर ५ मा जारी गरिएको १५ दिने म्याद सकिनु पूर्वसम्म कुनै रोक आदेश नआएको भन्दै डिभिजनले प्रक्रिया अघि बढाउन कुनै कानुनी बाधा नरहेको दाबी गरेको छ।

१६ मंसिरमा रास्वपा नेतृ तथा पूर्वसांसद विन्दबासिनी कंसाकारले सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। शुक्रबार सुनुवाइपछि अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरे पनि आदेश कुन भूभाग र कति व्यक्तिलाई लागू हुन्छ भन्ने विषय स्पष्ट नभएको  जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।

सडक विस्तार परियोजनाअन्तर्गत महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक राप्ती पुलसम्म तथा त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्म करिब ९.५ किलोमिटर क्षेत्रमा ५३१ संरचना हटाइनेछन । सडकको केन्द्र रेखाबाट  २५–२५ गजभित्र पर्ने २३४ संरचना दायाँतर्फ र २९७ संरचना बायाँतर्फ हटाइने तयारी गरिएको  छ।

स्थानीय बासिन्दा र व्यवसायीहरू भने मुआब्जा तथा क्षतिपूर्ति माग्दै आन्दोलनरत छन्।