कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताएका छन् ।
‘भोलिको सदाचार निर्माणः युवाहरुसँग भ्रष्टाचारविरुद्ध ऐक्यबद्धता’ नाराका साथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज विराटनगरमा आयोजित भष्टाचार विरुद्धको २५औँ अन्तरराष्ट्रिय दिवस–२०२५ को उद्घाटन गर्दै उहाँले राष्ट्र निर्माण र नेपाली जनताप्रति सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार भ्रष्टाचारविरुद्ध अभियानमा लाग्न सबैलाई आह्वान गरे ।
मुख्यमन्त्री कार्कीले मुलुकलाई सुसंस्कृत, सभ्य, आधुनिक, विकसित राष्ट्र बनाउन भ्रष्टाचार न्यूनीकरण अभियानमा प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिए ।
उनले बेरुजु एवं पेस्की फछ्र्याैट, नीतिनिर्माण, बजेट कार्यान्वयन क्षेत्र अधिकारको न्याय सम्पादनमा इमान्दारीका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए।
मुख्यमन्त्री कार्कीले भ्रष्टाचार न्यूनीकरण अभियान सञ्चालन गर्नका लागि प्रदेशका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहभागितामा आगामी दुई महिनाभित्र कार्यक्रम सञ्चालन गरी मुलुकमा सन्देश प्रवाह गरिने बताए ।
प्रदेशका निमित्त प्रमुख सचिव राजुप्रसाद गुरागार्इंले भ्रष्टाचार अपराध भएको र यो दण्डनीय हुने धारणा राखे। जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राईले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान कानुनमा संशोधन गर्नुपर्ने सुझाव दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले मन, वचन र कर्मले भ्रष्टाचार विरुद्धको अभियानमा लाग्न समाजलाई सन्देश दिनुपर्ने धारणा राखे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख खगेन्द्रप्रसाद रिजालले भ्रष्टाचार मुलुकको समृद्धिको बाधक भएकाले यसको नियन्त्रण कायम गरी सुशासन कायम गर्नु हामी सबैको जिम्मेवारी रहेको धारणा राखे। मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारीले ‘प्रदेश सरकारले भ्रष्टाचार विरुद्धका प्रयास एवं नियन्त्रणका प्रयास र सुधारका क्षेत्रहरु’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रदेश सरकार सबै मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षा निकायका प्रदेश प्रमुखहरुको उपस्थिति रहेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान