
कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुराबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा परेका छन। कांग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिको बिहीबारको बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ देउवाको नाम सिफारिस गरेको हो ।
सभापति देउवाले अन्तिम पटक निर्वाचनमा लड्ने इच्छा व्यक्त गरेपछि उनलाई सर्वसम्मत एकल सिफारिस गर्ने निर्णय भएको जिल्ला सभापति भीमबहादुर साउदले बताए ।
देउवा २०४८ सालदेखि डडेल्धुराबाट निरन्तर निर्वाचन लड्दै र जित्दै आएका छन्। डडेल्धुराबाट प्रतिनिधित्व गर्दै उनी ५ पटक प्रधानमन्त्री बनिसकेका छन् । उनी छैटौं पटक प्रधानमन्त्री हुने तयारीमा रहेका थिए तर जेनजी आन्दोलनले केपी ओली नेतृत्वको गठबन्ध सरकार नै ढलेपछि सम्भव भएन ।
उनको प्रधानमन्त्री हुने रोलक्रम मात्रै खोसिएन कि जेनजी आन्दोलनमा घरमा आगजनीका साथै सांघातिक आक्रमणमा परी घाइते भए ।