
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला उहाँविरुद्ध सामाजिक सञ्जालमार्फत भइरहेका गतिविधि देश हित विपरीत र खेदजनक रहेको बताउनुभएको छ ।
कैलालीको धनगढीमा आज प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीविरुद्ध त्यहाँ कुनै प्रकारको विरोध प्रदर्शन नभएको र उहाँको भ्रमण अत्यन्त सफल ढङ्गले भइरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री ओलीसँग संवाद गर्न अमेरिकाको बौद्धिक वर्ग लालायित देखिएको छ ।”
महासचिव पोखरेलले सहकारी प्रकरणका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि लागेको आरोपको अनुसन्धान रोक्न भइरहेका गतिविधि कानुनी राज्यमाथिको उपहास भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासनका कुरा गर्नेले अनुसन्धानको प्रक्रियामा जान नमान्ने कुरा उचित होइन, निः सर्त सहयोग गर्नुपर्छ ।”
मुलुकको लोकतन्त्रलाई सही दिशामा लैजानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन गरेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हामी संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्न चाहन्छौँ, संविधानका सबल पक्ष र कमजोर पक्ष खोज्न चाहन्छौँ ।”
पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन भएपछि उद्योगी- व्यवसायीमा आशा जागेको, अर्थतन्त्रमा सुधारको लक्षण देखिएको, वैदेशिक लगानी भित्रिने क्रम सुरु भएको तथा लगानीको वातावरण बनेको महासचिव पोखरेलले बताउनुभयो ।