
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको विकास, गतिशीलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ।
भक्तपुरमा आजदेखि सुरु भएको ‘भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक स्थिरताका लागि नै नेपाली काँग्रेस र नेकपा (एमाले) सहितको गठबन्धनको सरकार बनेको बताउनुभयो ।
कार्यवाहक प्रधानमन्त्रीसमेत रहनुभएका सिंहले गत निर्वाचनको परिणामले नौ- नौ महिनामा सरकार परिवर्तन हुँदा जनतामा निराशा छाएकोले राजनीतिक स्थितिरता कायम गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन तथा राजनीतिक स्थिरता र स्थायित्व ल्याउन काँग्रेस र एमालेको सरकार बनेको बताउनुभयो ।
अहिलेको सरकारले जनताको पक्षमा काम गर्न थालेको, संसद्मा अडकिएर रहेका विधेयक पास हुन थालेका भन्दै समग्र अर्थतन्त्रलाई गतिशील बनाउने गरी सरकारले काम गरिरहेकाले व्यवसायीलाई ढुक्क भएर लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।
उपप्रधानमन्त्री सिंहले सरकारले संविधानको मर्म र भावनाविपरीत कुनै पनि निर्णय नगर्ने, संविधानले दिएको कसैको पनि अधिकार नखोस्ने पनि उल्लेख गर्नुभयो ।
सल्लाघारीको नेपाल ट्रष्टको नाममा रहेको एक सय आठ रोपनी जग्गामा सबैको आँखा परेको सन्दर्भ कोट्याउँदै उहाँले चेम्बरले मात्रै होइन, अस्पताल, मेडिकल कलेज लगायत धेरै प्रयोजनका लागि सो जग्गा माग भए पनि स्थानीय जनता, राजनीतिक दल र सरोकार सबै पक्षको छलफलबाट मात्रै यसको निर्णय गरिने स्पष्ट पार्नुभयो ।