
नुवाकोट, साउन १७: कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनीमा किसानले भर्खरै रोपेको धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति पुर्याएको छ ।
बाढी रोकिएपछि रोपो उठाउन कोसिस गरे पनि ग्रेगान सहितको बालुवा र लेदोले पुरेकाले धेरै क्षति भएको किसानहरुले बताएका छन् । दुई सय रोपनी खेतलाई क्षति पुर्याउँदै अहिले खेतमा खोला बगिरहेको छ । चार सय रोपनी खेतमा लगाएको रोपो पनि पुरिएको किसानहरुको भनाई छ ।
बाढीको कारण स्यानीय समाजसेवी जनक ढुङ्गानाले व्यक्तिगत लगानीमा केही वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलमा पनि क्षति भएको छ । पुलको पिलर बगाएसँगै आवागमन रोकिएको छ । स्थानीय किसान अरुण राईले व्यावसायिक रूपमा गर्दै आएको माछापोखरीमा पनि क्षति भयो ।
तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारीले बाढीबाट भएको क्षतिको लगत सङ्कलन गरेर किसानलाई सक्दो सहयोग गर्न आफू तत्पर रहेको बताउनुभयो ।