
फाइल तस्बिर ।
नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई संख्या बढाउनेभन्दा पार्टीभित्र आपसी समझदारी र मन मिलाउन ध्यान दिन सुझाव दिएका छन्।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेता भट्टराईले एकपटक विधि तय भइसकेपछि त्यसलाई बारम्बार परिवर्तन नगर्न आग्रह गरे। उनले पार्टी एकता र आपसी विश्वासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
‘एउटा विधि तय भइसकेपछि फेरि यसलाई नभत्काऔँ । प्लिज, म भन्न चाहन्छु—मन जोडौँ । मतभन्दा महत्त्वपूर्ण मन हो,’ भट्टराईले भने। संख्याले पार्टीको क्षमता निर्धारण नगर्ने भन्दै उनले अध्यक्षलाई पार्टीभित्र सहमति र मन मिलाउन लाग्न आग्रह गरे। ‘अध्यक्षज्यू, तपाईँ संख्या होइन, मन मिलाउन लाग्नुस्,’ उनले स्पष्ट शब्दमा भने।
भट्टराईले पार्टी अहिले गम्भीर मोडमा रहेको उल्लेख गर्दै केन्द्रीय कमिटीको अन्तिम बैठकमा महत्वपूर्ण जिम्मेवारी रहेको बताए। ‘हामी गम्भीर मोडमा छौँ । केन्द्रीय कमिटीको अन्तिम बैठकमा छौँ । केन्द्रीय कमिटीले आफ्नो निर्णय गर्ने क्षमता देखाएको छ,’ उनले भने।
उनको भनाइले एमालेभित्र देखिएको आन्तरिक मतभेदबीच सहमति, एकता र आपसी विश्वासको आवश्यकता औंल्याएको छ।