
दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, नेपाल’सँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ ।
महाअभियानसँगको संवाद र समस्या समाधानका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा ‘आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति’ गठन गरिएको हो ।
समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन् ।
सरकारले वार्ता समिति गठन गरिएको विषयमा महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई औपचारिक रूपमा जानकारी गराइसकेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयमार्फत पठाइएको पत्रमा महाअभियानका तर्फबाट पनि वार्ताका लागि तीन जना प्रतिनिधि पठाउन अनुरोध गरिएको छ ।
यसअघि मंसिर २२ गते प्रसाईंले राखेका मागहरूबारे पुस २ गते पुनः बैठक बस्ने सहमति भएको थियो ।