
जेनजी आन्दोलनकी अगुवा तनुजा पाण्डेले आफूलाई जेनजी प्रतिनिधि दाबी गर्ने सुदन गुरुङलाई जेनजीको नाम नबेच्न चेतावनी दिएकी छन्।
सामाजिक सञ्जालमा पाण्डेले नेपाल प्रयोगशालाको रुपमा जेनजीलाई प्रयोग नगर्न र व्यक्तिगत एजेन्डा अघि नबढाउन गुरुङलाई चेतावनी दिएकी हुन्।
पाण्डेले गुरुङको विरोधाभासपूर्ण राजनीतिक अभिव्यक्तिलाई लक्षित गर्दै भनिन्, ‘कहिले निर्वाचनमा नेताहरूलाई आउन नदिने घोषणा गरिन्छ, कहिले बहुदलीय लोकतन्त्रको वकालत गरेर एकपक्षीय निर्णय गरिन्छ। यस्तो असंगत कदम नाटकभन्दा फरक छैन।’ उनले थपिन्, ‘तपाईंको अस्थिर कदमले देश र आन्दोलनलाई क्षति पुर्याएको छ। अब केही समय विश्राम लिनुहोस् र आफ्नो दक्षता भएको क्षेत्रमा केन्द्रित हुनु बुद्धिमानी हुनेछ।’
‘राजनीतिमा राजनीतिक चेतना किन महत्वपूर्ण हुन्छ भन्ने कुरा ‘जेठो छोरो’ लाई हेरेर नै आँकलन गर्न सकिन्छ। जेठो छोरो अलि धेरै पुलपुलिएको देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘तपाईंका मागहरू पूरा नभए जेनजी ‘फेल’ हुन्छ भन्ने कथ्य जबरजस्ती थोप्ने काम अब बन्द गर्नुहोस्।
पाण्डेले गुरुङलाई व्यक्तिगत र जेनजीको नाम बेचेर राजनीतिक एजेन्डा अघि नबढाउन आग्रह गर्दै सामाजिक र राजनीतिक जिम्मेवारीको ख्याल गर्न समेत चेतावनी दिएकी छन्।