
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। ११औँ महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा ओली अध्यक्ष पदमा विजयी भएका हुन्।
केन्द्रीय निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी तथा पूर्वमहासचिव ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन्। यद्यपि मतगणनाको औपचारिक घोषणा हुन बाँकी रहेको आयोगले जनाएको छ।
ईश्वर पोखरेल अध्यक्ष पदमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन्। ओली यसअघि २०७१ सालमा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए। त्यसपछि २०७८ सालमा सौराहामा सम्पन्न दशौँ महाधिवेशनबाट दोस्रो पटक अध्यक्षमा चयन भएका थिए।
यसअघि २०६५ सालमा बुटवलमा आयोजित आठौँ महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए।
११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा कुल २ हजार २ सय २७ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार ३६ जना महाधिवेशन प्रतिनिधि मतदानमा अनुपस्थित रहेका थिए। ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै एमालेको आगामी नेतृत्व र राजनीतिक दिशाबारे चासो बढेको छ।