काठमाडौं, पुस ६ :

जेन जी काउन्सिलका संयोजक सुदन गुरुङले पीडित परिवारलाई अब न्यायका लागि सोझै गृहमन्त्री ओमप्रकाश अर्याल र उनको सचिवालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

पछिल्लो दुई महिनादेखि आफ्नो समूहले पीडित परिवारलाई न्याय दिलाउन निरन्तर प्रयास गरे पनि गृहमन्त्रीको लापरबाहीका कारण सफल हुन नसकेको दाबी गर्दै उनले गृहमन्त्रीसहित गृह प्रशासनका उच्च अधिकारीहरूको सम्पर्क नम्बर सार्वजनिक गरेका हुन्।

गुरुङले गृहमन्त्री अर्याल, उनका स्वकीय सचिव धिरज जोशी र गृह सचिव रामेश्वर दंगालको सम्पर्क नम्बर सार्वजनिक गर्दै घाइते तथा पीडित परिवारलाई सोझै सम्पर्क गरेर दबाब दिन आग्रह गरेका छन्।

पछिल्लो समय गृहमन्त्रीको राजीनामा माग्दै आएका गुरुङले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा झुठा अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिहरूलाई रिहा गराउन पटक–पटक पहल गर्दा पनि मुद्दा र धरौटीका कारण समस्या भइरहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘झुठा अभद्र मुद्दामा फसाएर पक्राउ गर्ने र बारम्बार रिहाइका लागि प्रयास गर्दा पनि पीडित पक्षका परिवारले न्याय पाउन नसकेपछि अबदेखि रिहाइका निम्ति गृहमन्त्रीज्यू र उहाँका स्वकीय सचिवलाई सोझै सम्पर्क गर्नुहोला।’

यसैबीच, गुरुङले जेन जी समूह र सरकारबीच भएको १० बुँदे सम्झौतामा राष्ट्रपति रामचन्द्र पौडेलले हस्ताक्षर गर्न नमानेको आरोप समेत लगाएका छन्।
उनका अनुसार राष्ट्रपति कार्यालयबाट हस्ताक्षरमा भइरहेको ढिलाइका कारण सम्झौताअनुसार भ्रष्टाचार र हत्यासम्बन्धी घटनाको छानबिन तथा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो।

‘सम्माननीय राष्ट्रपतिबाट हस्ताक्षरमा भइरहेको आनाकानीका कारण जेन जी र सरकारबीच भएको सम्झौता कार्यान्वयनमा समस्या उत्पन्न भएको छ,’ गुरुङले उल्लेख गरेका  छन्।