
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले राष्ट्रिय महत्वका चाडपर्व अघि सबै सडकका खाल्डाखुल्डी पुर्ने काम थालेको भन्दै एक साताभित्र सडक मर्मत कार्य सम्पन्न भइसक्ने बताउनुभएको छ ।
आज प्रेस चौतारी महोत्तरीले लालगढमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री दाहालले चाडपर्वमा यात्रुको सहजताका लागि सडकका खाल्डाखुल्डी पुर्ने काम तीब्र गतिमा अघि बढेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मन्त्री दाहालले ‘समृद्ध मधेस’ निर्माण गर्न सङ्घीय सरकारले आवश्यक योजना बनाएर कार्यान्वयनको चरणमा गएको पनि बताउनुभएको छ।
समृद्धि मधेस निर्माण गर्ने सरकारको अभियान जारी रहेको उहाँको भनाई छ ।
महोत्तरी र धनुषामा रहेका मन्त्रालय मातहतका आयोजनाको निरीक्षण गर्न पुग्नुभएका उहाँले समृद्ध मधेसले मुलुकको मुहार फेर्ने भएकाले सोहीअनुसार योजनाबद्ध रुपमा मधेशलाई समृद्ध बनाउन लागिएको उल्लेख गर्नुभयो ।
पूर्वपश्चिम राजमार्ग, उत्तर दक्षिणका व्यापारिक केन्द्र र सदरमुकाम जोड्ने अधिकांश सडक निर्माण भइसकेका र कतिपय निर्माणको अन्तिम चरणमा रहेका मन्त्री दाहालले बताउनुभयो ।
मधेसमा बर्दिबास- जयनगर रेलसेवा महत्वाकाङ्क्षी आयोजना भएको उल्लेख गर्दै उहाँले यो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्नुभयो।
जयनगर बर्दिबास रेल सेवाका तीनमध्ये दुई खण्डमा सेवा सञ्चालनमा भइरहेको जनाउदै मन्त्री दाहालले भङ्गाहा- बर्दिबास खण्डको काम पनि चाँडै सुरु गर्ने तयारी गरिरहेको बताउनुभयो ।
भङ्गाहा- बर्दिबास खण्ड अन्तर्गत बर्दिबासमा रेल स्टेसन बन्ने ठाउँ नजिकको केही जग्गामा घर तथा संरचना हटाउन नसक्दा निर्माण ढिलाइ भएको उहाँले बताउनुभयो ।
मधेसको मुख्य केन्द्र पूर्वपश्चिम राजमार्गको कमला पुलबाट पश्चिम बागमतीसम्म अत्याधुनिक चारलाइन (फोरलाइन) सडक निर्माणको ठेक्का स्वीकृत प्रक्रिया टुङ्गिएर यथाशीघ्र काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।
यातायातमन्त्री दाहालले नेपाल रेल्वे सेवा कम्पनीको सेवाबारे जानकारी लिदै जनकपुरधामको स्टेसनबाट रेल चढेर भारतको जयनगरतर्फ जानुभएको थियो ।