काठमाडौँ, साउन १७: 'स्वतन्त्रता र समृद्धिका लागि पत्रकारिता' भन्ने मुल सन्देशका साथ आजदेखि sakriyanews.com अनलाइन न्युज पोर्टल शुरु भएको छ। नेपाली पत्रकारिताको लामो
 यात्रामा फेरि एकपटक सँगसँगै आम नेपालीका सुखदुखको साथी बन्दै सूचना र मनोरञ्जनमार्फत यहाँहरुलाई सूसुचित गराउने हाम्रो मुल ध्येय रहेको छ।

स्वच्छ पत्रकारिता समाजको ऐना हो भन्ने आम बुझाइलाई मध्येनजर गर्दै सक्रिय न्युजको यो टीम नेपाल भित्र र विदेशमा छरिएर रहेका नेपाली दर्शक, श्रोता र पाठकलाई तीनवटै विधामार्फत 
हामीले सेवा गर्ने प्रतिवद्धता आजैदेखि गरेका छौँ। नेपाली पत्रकारिताको आकाशमा यो अनलाइनको शुभारम्भसँगै थप शशक्त र विश्वसनीय सूचना र समाचार पस्कने बाचा गर्दछौँ ।

मर्यादित र समुन्नत समाजलाई पत्रकारितामार्फत थप सुसज्जित बनाउन हाम्रो निरन्तर प्रयास रहनेछ । देशमा सुशासन कायम राख्दै विद्यमान द्वेष र विभेदलाई जरैदेखि उखेलेर समतामुलक समाजको निर्माणसँगै भावी पुस्तालाई नेपाली समाज र संस्कारको उन्नत नमूना पस्कन सकेमात्र हाम्रो उपस्थितिको अर्थ रहने कुरामा कसैको दुई मत रहँदैन ।

जलवायु परिवर्तनको प्रभाव, बढ्दो प्रदुषण, बातावरणीय असन्तुलन र यसबाट मावन जीवनमा परेका प्रभावका बारेमा पनि sakriyanews.com ले निरन्तर विषयबस्तुलाई उठाइरहने बाचा गर्दछौँ ।

पत्रकारिताको यो यात्रामा तपाइँहरु सबैको साथ र सहयोगको अपेक्षा sakriyanews.com को टीमले गरिरहने छ ।