काठमाडौं, पुस १३ :

 श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग पनि एकता नगर्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै साम्पाङले श्रम संस्कृति पार्टीले ‘मिसावटविहीन राजनीति’ गर्ने बताएका हुन्। उनले पार्टी कुनै पनि राजनीतिक दल वा समूहसँग गठबन्धन वा एकता नगर्ने दोहोर्‍याए।

उनले भने, ‘अहिले चुनावको माहोल छ। धेरैले धेरै खालका कुरा गरिरहेका छन्। जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ। तर श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन।’ उनले थपे, ‘हामी मिसावटविनाको राजनीति गर्छौं। यो देशको ढुंगा र माटोसँग जोडिएको राजनीति हो।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि साम्पाङको यस्तो प्रतिक्रिया आएको हो।

साम्पाङले श्रम संस्कृति पार्टी स्वदेशी विचार र मौलिकतामा आधारित राजनीति गर्ने पार्टी भएको दाबी गरे।उनले पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई एकताको विषयमा अन्योलमा नपर्न आग्रहसमेत गरेका छन्।