
मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने तयारी गरेको छ ।
अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि सो पार्टीले एक्लै उम्मेदवारको सूची बुझाउन लागेको हो। दलहरूले समावेशीताको आधारमा ११० उम्मेदवाको सूची बुझाउनुपर्ने हुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौका मेयर बालेन शाह पक्ष, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायतसँग एकताका लागि उनेपाले संवाद गरेको थियो । रास्वपा सभापति रवि लामिछाने, काठमाडौंका मेयर बालेन शाह र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले हिजो राति पनि संवाद गरेका थिए ।
पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि उनेपाले समानुपातिकको सूचीलाई अन्तिम रुपम दिन लागेको हो । एकता सम्भव नभएको हुँदा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने कार्य भइरहेको उनेपाका प्रवक्ता डा. राजु थापाले जानकारी गराए । निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकको सूची पेस गर्ने आज अन्तिम दिन हो ।