काठमाडौं, पुस १५ :

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको एकताले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रतिस्पर्धामा नयाँ राजनीतिक सन्देश दिएको छ।

सोमबार भएको एकतासम्बन्धी सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उज्यालो पार्टीका संयोजक घिसिङले हस्ताक्षर गरेपछि रास्वपाले तीनै पक्षका नेताहरू समेटिएको ११० जनाको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको हो। यस सूचीमा उज्यालो पार्टीबाट १८ जना अटाएका छन्। 

उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायसहित विभिन्न जातीय, लैंगिक र क्षेत्रीय समूहबाट १८ जना उम्मेदवार सूचीमा समेटिनुले रास्वपाले समावेशितालाई रणनीतिक रूपमा उपयोग गर्न खोजेको देखिन्छ।

व्यवसायी र नयाँ अनुहारको मिश्रण

यसपटक रास्वपाको समानुपातिक सूचीको अर्को उल्लेखनीय पक्ष भनेको व्यवसायी र गैरपरम्परागत पृष्ठभूमिका व्यक्तिहरूको उपस्थिति हो। आईएमई ग्रुपका निर्देशक सचिन ढकाल, गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक विदुषी राणा,  लक्जरी मिठाइ ब्रान्डकी सञ्चालक तथा सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ, ऊर्जा व्यवसायी डा. राम लामा र पूर्व कोषाध्यक्ष लिमा अधिकारी (आचार्य) सूचीमा छन्।

सूचीमा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल,   टेलिभिजन होस्ट आसिफ शाह, मानव अधिकारकर्मी मोहना अन्सारी , गायिका सत्यकला राई र त्रिशला गुरुङलाई समेटिएको छ। यस्तै दलित समुदायको क्लस्टरमा  रूपक विश्वकर्मा घिमिरे ,कलाकार प्रकाश सपुत ,प्रकाशचन्द्र परियार,  रामजी राम ,अभिनेत्री रीमा विश्वकर्मा सिफारिस भएकी छन्।

यसले रास्वपाले परम्परागत राजनीतिभन्दा बाहिरका व्यक्ति समेटेर ‘नयाँ शक्ति’को छवि कायम राख्न खोजेको संकेत गर्छ। तर, ठूला व्यवसायिक घरानासँग जोडिएका नामहरू आउनुले पार्टीको ‘वैकल्पिक राजनीति’को दाबीमा विरोधाभास देखिने तर्क पनि उठ्न थालेको छ।

अवसर र चुनौती दुवै

उज्यालो पार्टीसँगको एकताले रास्वपाको संगठनात्मक पहुँच विस्तार गर्ने सम्भावना छ। घिसिङ जस्ता परिचित अनुहार जोडिनुले मतदाता आकर्षण बढ्न सक्छ। तर, फरक पृष्ठभूमि र राजनीतिक संस्कार भएका समूहलाई एउटै पार्टीभित्र सन्तुलनमा राख्नु र समानुपातिक सूचीको प्राथमिकतामा देखिएको अन्तरले आन्तरिक असन्तुष्टि जन्माउने जोखिम पनि उत्तिकै छ।

आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको यो प्रयोग मतदाताले कसरी लिन्छन् भन्ने कुरा निर्णायक हुनेछ। , रास्वपाको ‘विस्तार मोडेल’ सफल हुन्छ कि हुँदैन भन्ने परीक्षणसमेत हुनेछ।