
नवलपरासी, पुस १७ :
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक टायल्स उद्योगमा दुई जना मजदुर मृत फेला परेका छन् । एक नेपाली र एक भारतीय मजदुर उद्योगमा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार मृत फेला पर्नेमा नवलपरासी बर्दघाट नगरपालिका-१३ धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला-६६ ग्रामपोस्टका ३० वर्षीय विनोद कुमार रहेका छन् ।
ग्यासी फायरको पोकिङ फ्लोरमा गद्दा ओछ्याएर सुतेको अवस्थामा उनीहरू मृत फेला परेको कम्पनीका म्यानेजर रमेश न्यौपानेले प्रहरीलाई जानकारी दिएका छन् । मृत फेला परेका दुबैजना मजदुरको शरीरमा कुनै पनि प्रकारको घाउ चोट नदेखिएको बताइएको छ।
मृतकका आफन्तले भने घटना शंकास्पद भएको जनाउँदै दोषीमाथि छानबिन गरी कारबाही हुनुपर्ने मागसहित उद्योग घेराउ गर्दै प्रदर्शन गरिरहेका छन् ।