काठमाडौं, पुस १७ :

जनमत पार्टीले काठमाडौँको माइतीघर मण्डलासहित देशका विभिन्न जिल्लामा धोती दिवस मनाएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर बिहीबार पार्टीले राष्ट्रिय पोशाक दिवसका रूपमा धोती दिवस आयोजना गरेको हो।

डा. चन्द्रकान्त राउतको नेतृत्वमा रहेको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्तालगायतका पोशाकमा सजिएर माइतीघरमा भेला भएका थिए। सहभागीहरूले ‘धोती हाम्रो शान हो’, ‘मधेशीको पहिचान धोती हो’, ‘धोती-टोपी एक हौं’, ‘धोती हाम्रो गर्व हो’ र ‘धोती भनेर हेप्न पाइँदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

कार्यक्रममा बोल्दै जनमत पार्टीकी वरिष्ठ नेता ममता झाले नेपालका सबै जातजातिको आ–आफ्नै भेषभूषा रहेको उल्लेख गर्दै त्यसलाई सबैले साझा सम्पत्तिका रूपमा सम्मान गर्नुपर्ने बताइन्। उनले भेषभूषाका आधारमा कसैलाई पनि अपमान गर्न नहुने धारणा व्यक्त गरिन् ।

जनमत पार्टीले धोतीलाई मधेसी समुदायको सांस्कृतिक धरोहरका रूपमा प्रस्तुत गर्दै मधेसी समुदायमाथि हुने विभेद र दुर्व्यवहारको विरोधस्वरूप यो दिवस मनाइएको जनाएको छ। पार्टीले यसअघि नै देशभरका सबै जिल्लामा धोती दिवस मनाउन परिपत्र जारी गरेको थियो।

जनमत पार्टीले हरेक वर्ष जनवरी १ तारिखका दिन धोती दिवस मनाउँदै आएको जनाएको छ।