सिन्धुपाल्चोक, असोज १२ :

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका- ४ मानेखर्कमा निर्मित कृषि उपज सङ्कलन केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ । 

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामा र कोइकाका देशीय निर्देशक मुहेन कोङले सङ्कलन केन्द्रको संयुक्त रूपमा उद्‌घाटन गर्नुभयो ।
 
देशीय निर्देशक मुहेनले पालिका अध्यक्षलाई कृषि उपज ढुवानी गर्ने साधनको साँचो हस्तान्तरण गर्नुभयो । 

गाउँपालिकाका किसानलाई आय आर्जनसँग जोड्ने नीतिलाई सार्थक पार्न कोइका नेपालले गरेको सहयोग प्रति गाउँपालिका अध्यक्ष लामाले धन्यवाद व्यक्त गर्नुभयो । 

गाउँपालिकाको कृषि नीति अन्तर्गत किसानसँग जोडिने, उपलब्ध जग्गाको उच्चतम् प्रयोग गरी जैविक सागसब्जी र खाद्यान्न उत्पादन गरी किसानलाई आय आर्जनसँग जोड्न केन्द्र सहयोगी हुने विश्वास लिइएको छ ।

देशीय निर्देशक मुहेनले केन्द्र सञ्चालनसँगै स्थानीय किसानलाई आय आर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

त्यस अवसरमा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाका अध्यक्ष रेनुका चौलागाईँ र तनहुँको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापामगरलाई पनि गाडीको साँचो हस्तान्तरण गरिएको थियो । 

यसैबीच, कृषि उपज सङ्कलन केन्द्र सञ्चालक समितिले केन्द्रमा सङ्कलित उत्पादन उचित मूल्यमा किसानसँग खरिद गरी मेलम्चीबाट काठमाडौँसम्म पाँचपोखरीको पहिचान सहित बिक्री वितरण गर्ने वातावरण तय गरिदिन गाउँपालिका र अन्य सामाजिक सङ्घसंस्थालाई आग्रह गरेको छ ।