
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमनको छानबिनका लागि गठित आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो धारणा उपलब्ध गराउन पत्र पठाएको छ।
आयोगले दुवै नेतासँग बयान लिन नभई आन्दोलनका क्रममा भएका घटनाबारे आफ्नो धारणा लिखित रूपमा माग गर्दै पत्र पठाएको हो। सुरुमा म्याद बुझ्न अस्वीकार गरेका देउवा र प्रचण्डले सार्वजनिक सूचना प्रकाशित गर्ने चेतावनीपछि मात्र पत्र बुझेको आयोग स्रोतले जनाएको छ।
देउवाले आफू भदौ २४ गतेको आगजनी घटनाबाट पीडित भएको र आन्दोलनका बेला राज्यको कुनै भूमिकामा नरहेको भन्दै पत्र बुझ्न र जवाफ दिन अनिच्छा देखाएका थिए। दुवै नेताले आयोगमा उपस्थित हुने वा लिखित जवाफ पठाउनेबारे हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेका छैनन्।
छानबिन आयोगले अन्त्यमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ । घटनाको बखत जिम्मेवारीमा रहेका सबैसँग आयोगले बयान लिइसकेको छ । साथसाथै उनीहरुमाथि लागएको स्थानहद पनि फुकुवा गर्दै गएको छ ।