लुम्बिनी, असोज १२ :

लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ । 

विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज शुभकामना सन्देश दिदैँ लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’ को अवधारणा कार्यान्वयन गरिने बताउनुभएको हो। 

प्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई पूरा गर्न घुमौँ लुम्बिनीको अवधारणा अघि बढाएको हो ।

मुख्यमन्त्री आचार्यले  ‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको भन्दै पर्यटनबाट नै नागरिकलाई स्वरोजगार बनाउन सकिने उल्लेख गर्नुभएको छ ।

नागरिकको जीवनस्तर उठाउने एउटा आधारका रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीय स्थलमा पुर्याउन लुम्बिनी पर्यटन परिपथ बनाउने गरी सरकारले काम थालेको बताउँदै उहाँले सन्देशमा भन्नुभएको छ ।

विविधतायुक्त प्रदेश लुम्बिनीमा हिमाल, पहाड र समथर भूभाग तथा अन्नको भण्डार रहेको छ ।