काठमाडौं, पुस २३ :

कागेश्वरी मनोहरा नगरपालिकाले वागमती प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल तेक्वान्दो सङ्घ वागमती प्रदेश, जिल्ला समन्वय समिति तथा कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा यही पुस २६ र २७ गते उक्त प्रतियोगिता गर्न लागिएको हो ।

नगरपालिकाले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै प्रतियोगिताबाट खेलाडीहरूको वरियता निर्धारणसमेत गरिने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले तेक्वान्दो खेलले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै यसको प्रवर्द्धन सबैको साझा दायित्व भएको उल्लेख गरे । उनले खेलकुद क्षेत्रबाट आर्थिक उपार्जनसमेत सम्भव रहेको र खेलकुदले विश्वव्यापी अर्थतन्त्रमा प्रभाव पारिरहेको जिकिर गरे । नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरा नगरपालिका खेलकुद विकासका लागि सधैं तत्पर रहने प्रतिबद्धता जनाए ।