मोरङ, पुस २७ :

नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापा राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालय कोसी प्रदेशले औपचारिक रुपमा घोषणा गरेको छ ।

माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा दलित, महिला, अन्य गरी ३ सदस्यका लागि निर्वाचन हुन लागेकोमा अन्य तर्फ थापा निर्विरोध भएको घोषणा गरिएको हो । अब अन्य २ सदस्यका लागि मात्र निर्वाचन हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिस भीष्मराज प्रर्साईले तोकिएको समयमा अन्य तर्फएक जनाको मात्र उम्मेदवारी परेको र महिला र दलित तर्फ दुइ–दुइ जनाको उम्मेदवारी परेको जानकारी दिए ।

महिला तर्फएमालेबाट रोश्नी मेचे र नेपाली कम्युनिष्ट पार्टीका नमिता न्यौपाने, दलित तर्फएमालेबाट सोमनाथ पोर्तेल र नेपाली कम्युनिष्ट पार्टीका खेमराज नेपालीको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको छ । कोसी प्रदेशमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख-उपप्रमुख २७३ गरि ३६६ जना मतदाता रहेका छन् । एक जना स्थानीय तहका अध्यक्ष भ्रष्टाचारमा दोषी ठहर भएकाले मतदाता नामावलीबाट नाम हटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।