काठमाडौं, पुस २८ :

सरकारले संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री जगदीश खरेलले सरकारले वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत गरेको जानकारी दिए । साथै, गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारी (भक्तपुर) लाई नियुक्त गर्ने निर्णय भएको पनि उनले बताए ।

त्यसैगरी, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आईसीमोड) का सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानस्वरूप २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति दिएको छ ।

सरकारले २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । यसका साथै, मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् निर्णय :

१.अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको छ ।

२. वित्तीय क्षेत्र विकास रणनीति २०८२÷८२ देखि २०८६÷८७ स्वीकृत गर्ने निर्णय भएको छ ।

३. २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनि फैया बौद्ध पगौडाको अभिलेखालय पुनर्निर्माण र गंगाघाट मन्दिरको पुनर्निर्माणको लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।

४. मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय भएको छ ।

५. गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने निर्णय भएको छ।

६ २०८२ माघ ४ गते आइतबारको दिन बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।